काठमाडौं । सरकारले भोलि पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ ।
खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।
मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले पनि खोप अभियान हाललाई स्थगित भएको पुष्टि गर्दै पुनः शुरू गर्ने मिति केही दिनमै सार्वजनिक गरिने बताइन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो । ती ८ वटा जिल्लाहरूमा उपत्यकासहित वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेका छन् ।
त्यसै गरी मन्त्रालयले माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । ८ जिल्लाबाहेक प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही र दाङ तथा सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप लगाउने सरकारको तयारी थियो । मन्त्रालयले गत पुस ४ गतेदेखि ७ प्रदेशका ५७ वटा जिल्लामा मोडर्ना खोप लगाउने काम भने जारी राखेको छ ।
मन्त्रालयले उपत्यकालगायत फाइजर खोप दिने सबै जिल्लामा अन्तिम तयारी भइसक्दासमेत अभियान स्थगित भएको जानकारी दिएको छैन । ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले जिल्ला जनस्वाथ्य कार्यालयले हालसम्म जानकारी नदिए पनि अनौपचारिक रूपमा स्थगित भएको सुनेको बताउँदै नेपाल समाचारपत्रसँग भने– ‘हामीले सबै तयारी पूरा गरिसकेका थियौं । कताकता १८ गतेबाट खोप लगाउने भन्ने सुनेका छौं ।’