देशैभर ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि......

देशैभर ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि......

२०७८, पौष २५ आइतवार

  • 869
    SHARES

  • देशैभर ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि......

    काठमाडौं । पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । 

    शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

    भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सावधानी अपनाउन निर्देशन दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    संक्रमणको तेस्रो लहर फैलने त्रास बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो । 

    बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

    सीसीएमसीको बैठकमा सीमा नाका र हवाई उडान बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने विषयमा छलफल भएको थियो । सीसीएमसीको बैठकमा प्रम देउवाले संक्रमण फैलन नदिन सबै उपाय अबलम्बन गर्न निर्देशन दिएका थिए । निर्देशन दिने क्रममा उनले भने– ‘सबै अस्पताललाई तयारी अवस्थामा राख्नुस्, तत्काल सबै नागरिकलाई पुग्ने गरी खोप व्यवस्थापन गर्नुस् ।’

    संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रास बढेको छ । भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ ।

    प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले सबै विद्यालयलाई सावधानी अपनाउन निर्देशन दिइएको बताउँदै भने – ‘ओमिक्रोन देखिन थालेलगत्तै सबै विद्यार्थीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छौं, विद्यालय प्रवेश गर्दा हात धुने, एक अर्काबीच दुई मिटर दूरी कायम गरी बस्ने, एकले अर्काको खाजा नखाने लगायतका विषयमा सजगता अपनाउन सबैलाई आग्रह गरेका छौं ।’

    प्याब्सन र एन प्याब्सनले तत्काल विद्यालय बन्द नगर्न पनि आग्रह गरेको छ । निजी विद्यालयहरूले यो अवधिमा जाडो बिदा दिने र केही दिन अनलाइन कक्षा सञ्चालन गरेपछि अन्तिम परीक्षा लिनेगरी तयारी गरेको छ । सहअध्यक्ष ढुंगानाले भने– ‘बन्दको विकल्प खोजिएन र फेरि लकडाउन भएर विद्यालय बन्द भए अधिकांश साना विद्यालय सधैंका लागि बन्द हुने अवस्था आउनेछ ।’

    २०७८, पौष २५ आइतवार०८:०८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार