काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

२०७८, पौष २६ सोमवार

  • 953
    SHARES

  • काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

    काठमाडौं । सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो । 

    यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । मन्त्रालयका प्रवक्ता डा। गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको पुष्टि गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    अन्य जिल्लाको हकमा निर्णय भएको छैन । तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले स्थानीय तह, निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनसँग तथ्यांक लिएर अभियाय शुरू गरेको हो । उपत्यकाका काठमाडौं र ललितपुरमा करिब ४ लाख मात्रा खोप दिने तयारी छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले स्थानीय तहसँग समन्वय गरी अभियान शुरू गर्न लागिएको जानकारी दिए । उनले भने – ‘काठमाडौंका एक महानगरसहित ९ वटा नगरपालिकाबाट तथ्यांक संकलन गरिसकेका छौं, आजसम्म दुईवटा नगरपालिकाबाट तथ्यांक आउन बाँकी छ ।’

    उनले तथ्यांकको आधारमा स्थानीय तहसँग समन्वय गरी २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमै केन्द्र कायम गरी खोप अभियान सञ्चालन गर्ने जानकारी दिँदै भने – ‘मंगलबारबाट हामीले काठमाडौं महानगरसहित सबै पालिकामा खोप सञ्चालन गर्छौं ।’

    काठमाडौं स्वास्थ्य कार्यालयले तोकिएका उमेर समूहका २ लाख ७० हजार जनसंख्यालाई खोप उपलब्ध गराउने भएको छ । सबै स्थानीय तहले करिब एक महिनाअघि विद्यार्थी र अभिभावकको नाम सम्पर्क नम्बरसहितको फाराम भरिसकेको छ ।

    काठमाडौं महानगरपलिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले खोप अभियानको बारेमा सबै विद्यालयलाई जानकारी गराइसकेको बताए । कामपाभित्र करिब १ लाख ६० हजार विद्यार्थीलगायत १२ देखि १७ उमेर समूहकालाई खोप लगाउने योजना बनाएको जानकारी गराउँदै भने – ‘सबैले खोप नलगाएसम्म अभियान जारी राख्ने तयारी गरेका छौं ।’

    उनका अनुसार २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकैको विद्यालयमा गएर खोप लगाउने व्यवस्था गरिएको छ । ललितपुरका जनस्वास्थ्य कार्यालय प्रमुख सतीश विष्टले ललितपुरका सबै विद्यार्थीलाई फाइजर खोप लगाइने जानकारी दिँदै भनिन् –‘ललितपुर महानगरमा एउटै खोप शुरू हुन लागेको र केही तयारी गर्नुपर्ने भएकाले मंगलबारबाट अभियान शुरू गर्ने योजनामा छौं ।’

    ललितपुरमा करिब २ लाख जनसंख्यालाई खोप लगाइनेछ । ललितपुर महानगर शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्रीले महानगरभित्रका सबै विद्यार्थीलाई खोप दिन लागिएको बताए । उनका अनुसार महानगरका करिब ७१ हजार ३ सय १ जना विद्यार्थीलाई खोप उपलब्ध गराइनेछ । ललितपुरमा पनि २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र राखिने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकैको धेरै विद्यार्थी भएका केन्द्रबाट खोप उपलब्ध गराइनेछ ।

    भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले करिब ५० हजार विद्यार्थीलाई मोडर्ना खोप लगाउने अभियान शुरू गरेको जानकारी दिँदै भने – ‘शुक्रबारबाट खोप लगाउन शुरू गरेका छौं, लक्षित समूहका सबै जनसंख्याले नलगाएसम्म अभियान जारी राख्नेछौं ।’ सरकारले यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिने बताएको थियो । तर, मोडर्ना खोप केही बाँकी रहेपछि अहिले २० मध्येका केही जिल्लामा पनि मोडर्ना खोप दिने योजना बनेको हो ।

    २०७८, पौष २६ सोमवार०८:३३:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार