थप फाइजर खोप ल्याउने सरकारको तयारी

थप फाइजर खोप ल्याउने सरकारको तयारी

२०७८, माघ १६ आइतवार

  • 929
    SHARES

  • थप फाइजर खोप ल्याउने सरकारको तयारी

    काठमाडौँ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

    कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । 

    हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना छ भन्दै उहाँले अहिले बच्चालाई लगाउने खोपका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको र उनीहरूले खोप ल्याउने सुनिश्चितता गर्ने बित्तिकै खोप ल्याइने बताउनुभयो ।

    स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पनि दुई–तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको बताउनुभयो ।

    नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि खरिद गर्न लागिएको ६० लाख फाइजर खोप अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने गरी ल्याउन लागिएको हो । उमेर १८ वर्षसम्मका बालबालिकालाई लगाउने भनिएको फाइजर खोपको सट्टा मोडर्ना खोप आएकाले त्यसरी प्रतिस्थापन गर्न लागिएको हो ।

    डा। चौरसियाका अनुसार पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पुग्ने गरी ८४ लाख मात्रा फाइजर खोप खरिदका लागि नेपालले प्रस्ताव पठाइसकेको छ ।

    नेपालले प्रस्ताव गरेको उक्त खोप प्राप्त भएपछि ती उमेर समूहका ४२ लाख बालबालिकालाई पुग्ने गरी खोप खरिद गर्न लागिएको हो । नयाँ उत्पादन भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष पुगेका बालबालिकालाई लगाउन मिल्छ ।

    २०७८, माघ १६ आइतवार०८:२२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार