काठमाडौं । जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।
जोन्सन एण्ड जोन्सन लगाएका देशैभरका व्यक्तिले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो । अन्य खोप दुईपटक लगाउन परे पनि जोन्सन खोप एक पटक मात्र लगाउँदा पुग्ने थियो ।
मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ ।
पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ । यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले फागुन ४ मा सुचना प्रकाशित गर्दै भनेको छ ।