काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ह्याम्स र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताललाई स्पष्टीकरण सोधेको छ ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् ।
संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
उपचार शुल्कका विषयमा आज दिनभरि नै सामाजिक सञ्जालमा अस्पताल र सरकारप्रति चर्को आक्रोश देखिन्थ्यो ।
उपचार शुल्कका तनावका कारण जनताले रोग भन्दा पनि उपचार नपाएर मरिने चिन्ता व्यक्त गरेकाले प्रशासनको ध्यानाकर्षण भएको बुझिएको छ ।