विर्तामोड । झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् ।
सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ बेडको व्यवस्था गरेका हुन् ।
विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० बेड, विर्तासिटी अस्पतालले २५ बेड, मनमोहन सामुदायिक अस्पतालले १० बेड र दमकस्थित लाइफलाइन अस्पतालले ३० बेड गरी कूल २७५ बेडको व्यवस्था गरेका छन् ।
हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोडिभ सङ्क्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरु गरेका छन् । जिल्लामा सङ्क्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ ।
दमकको सबैभन्दा पुरानो निजी अस्पताल हो लाइफलाइन । अस्पतालको चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा।सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।
अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईले बेड क्षमताअनुसार कसैलाई विभेद् नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिइने बताए ।
यो विषम परिस्थितिमा यस क्षेत्रका कोभिडका बिरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेको उनले बताए ।