स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

२०७८, जेठ ३ सोमवार

  • 1.0K
    SHARES

  • स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

    काठमाडौँ । काठमाडौँ उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।

    कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा र टोखा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका र ललितपुर महानगरपालिकाले केही दिनभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छन् । 

    काठमाडौँ महानगरपालिकाले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको छ । महानगरको दुई करोड ७५ लाख रुपियाँ लागतमा यो अक्सिजन प्लान्ट निर्माण गरिएको हो । यो अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने महानगरले जनाएको छ ।

    ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि महानगरले सो अस्पताललाई एक करोड रुपियाँ दिएको छ ।

    महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमितको उपचारलाई ध्यानमा राखेर महानगरले पाटन अस्पतालसँग सहकार्य गरेर अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाएको बताएका छन् । 

    भक्तपुर स्थित भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नवनिर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भईसकेको छ ।   

    मध्यपुर थिमी नगरपालिकाको लगानीमा नेपाल–कोरिया मैत्री नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यो प्लान्टले प्रतिघण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्छ । २४ घण्टा सञ्चालन गर्दा यो प्लान्टले एक लाख ९२ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्छ । मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, “अस्पतालको माग त पूरा हुँदैन तर राहत भने भएको छ ।”

    २०७८, जेठ ३ सोमवार०७:५५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार