काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका प्रयोग गर्न सिफारिस गरिएको छ। कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बुधबार बसेको बैठकले कोभिसिल्डको पहिलो डोज लिइसके पनि दोस्रो लिन बाँकी समूहलाई अस्ट्राजेनिका प्रयोग गर्न सकिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले बताए ।
नेपालले खोप उत्पादक कम्पनिका उत्पादनलाई परिक्षण अनुमति नदिएकाले विभिन्न समस्या देखिएको विहिवार साँझ नेकपा एमाले पेशागत विशेष जिल्ला कमिटिद्धारा आयोजित स्वास्थ्य सचेतना कार्यक्रममा बोल्दै डा कार्कीले बताए ।
पैसा भुक्तानी गरिसकेकोअवस्थामा पनि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई कोभिसिल्ड खोप नदिने भएपछि १५ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने अभियान अन्योलमा परेको छ। कोभ्याक्सले पनि नेपाललाई २० प्रतिशत अनुदान खोपअन्तर्गत कोभिसिल्डकै खोप दिने प्रक्रिया अघि बढाएको थियो। तर खोप अन्यत्र दिने सेरमको योजना स्थगित भएपछि नेपाललाई अप्ठेरो परेको हो।
भारतको सर्वोच्च अदालतले देशका नागरिकलाई खोप नपुगी अन्य देशका लागि निर्यात गर्न नपाइने भनी डेढ महिनाअघि आदेश जारी गरेको थियो। लगत्तै सेरमले विज्ञप्ति नै जारी गरेर यो वर्ष (सन् २०२१) को अन्तिमसम्म देशबाहिर खोप दिन नसकिने घोषणा गरेको थियो। यद्यपि विभिन्न माध्यमबाट खोप ल्याउने विषयमा कुराकानी चलिरहेको कार्कीले बताएका छन् ।
सेरमको खोप रोकिएपछि कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिसिल्डको खोप दिन नसकेको भनी पत्राचार गरेको थियो। पत्र पाएलगत्तै कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बैठक बसेको थियो। कोभ्याक्सलाई बैठकको निर्णय आगामी जुन पहिलो सातासम्म पठाइसकिने जानकारी समितिले दिएको छ।
सरकारले २० लाख डोज कोभिसिल्ड खोपबापतको रकम भुक्तानी गरिसकेको भए पनि सेरमले १० लाख मात्र दिएको छ। १० लाख डोज आउन बाँकी हुँदै त्यसमा रोक लागेको हो। नेपालले सेरमबाट ५० लाख डोज खोप खरिदको योजना बनाएको थियो।
सेरमले खोप नदिने भएपछि पहिलो डोज लगाएका १५ लाख नागरिकका लागि र अन्य समूहका लागि विकल्पका रूपमा नेपालले अन्य देशहरूसँग खोप खरिदको पहल गर्दै आएको छ। ‘कोभिडसिल्ड’ अस्ट्राजेनिकाकै नमुनाअन्तर्गत बनेको हुनाले कोरिया, रुस, बेलायत र अमेरिकामा उत्पादित खोपका लागि बाटो खुला गरिएको सल्लाहकार समिति सदस्य कार्कीको भनाई छ । ‘हामीले १४ लाख अस्ट्राजेनिकाकै खोप चाहिन्छ भनेका छौं, बाँकी जुन कम्पनीको भए पनि हुन्छ,’ उनले भने।
कोभ्याक्सले नेपालमा १ करोड ३ लाख जनसंख्याका लागि खोप उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म ३ लाख ४८ हजारलाई पुग्ने मात्र दिएको छ।
त्यसै गरि यो वा त्यो बहानामा मानवीय गतिविधि नरोकिएकाले कोरोना नियन्त्रणमा अपेक्षित सफलता प्राप्त नभएको डा कार्कीको भनाई छ । "हाल ६० प्रतिशत गतिविधि ठप्प भए पनि बढाएर ८० प्रतिशत पुर्याउन निषेधाज्ञामा थप कडाई गर्नु परेको हो", कार्कीले भनेका थिए ।