बर्ड फ्लूः चीनमा H10N3 प्रकारको भाइरसबाट 'पहिलो पटक मानिसमा सङ्क्रमण'

बर्ड फ्लूः चीनमा H10N3 प्रकारको भाइरसबाट 'पहिलो पटक मानिसमा सङ्क्रमण'

२०७८, जेठ १९ बुधवार

  • 1.3K
    SHARES

  • बर्ड फ्लूः चीनमा H10N3 प्रकारको भाइरसबाट 'पहिलो पटक मानिसमा सङ्क्रमण'

    चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ।

    अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ।

    ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो।

    तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ।

    बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ।

    तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन।

    बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3 प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।

    "विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन। यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ," एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ।

    hen.jpg

    एनएचसीका अनुसार H10N3 भाइरसले पालिएका पक्षीमा गम्भीर रोग लगाउँदैन र यो चाँडै फैलिन पनि सक्दैन।

    के भन्छ विश्व स्वास्थ्य सङ्गठन?

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ।

    "पालिएका पक्षीमा एभीअन इन्फ्लूएन्जा प्रसार भइरहेसम्म मानिसमा त्यसको सङ्क्रमण हुनु अनौठो कुरा हैन। यो इन्फ्लूएन्जा महामारीको जोखिम यथावत् छ भन्ने एउटा सङ्केत हो," डब्ल्यूएचओले भनेको छ।

    अहिले चराचुरुङ्गीमा बर्ड फ्लूको H5N8 नामक प्रकार फैलिरहेको छ। त्यसबाट विभिन्न युरोपेली देशहरू प्रभावित भएका छन् र त्यहाँ पालिएका लाखौँ पक्षीको सामूहिक वध गरिएको छ।

    गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो।

    सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको H7N9 प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो।

    त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन। -बीबीसी ।  

    २०७८, जेठ १९ बुधवार११:३४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार