काठमाडौँ । कोरोना (कोभिड– १९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ । सो ट्याङ्क २० हजार लिटर क्षमताको रहेको छ र यसले अस्पतालले भोग्नु परेको चरम अक्सिजन अभावलाई पूरा गरेको छ ।
अस्पतालका निर्देशक प्रा.डा.दिनेश काफ्लेले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा विशेष गरी कोभिड–१९ का सङ्क्रमितहरूको उपचारलाई केन्द्रित गरी ‘लिक्विड अक्सिजन ट्याङ्क’ जडान गरी बुधबारबाट सञ्चालनमा ल्याएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
उनले भने, “आजबाट ट्याङ्कीको अक्सिजन अस्पतालको केन्द्रीय आपूर्ति प्रणालीमा पठाउने काम सुरु भएको छ । अब अस्पतालले कोभिड–१९ का सङ्क्रमितहरूको उपचारमा अक्सिजनको अभाव झेल्नु पर्दैन ।”
यस अस्पतालमा पाइपबाट पानी आपूर्ति गरेजस्तै अक्सिजन पनि आईसीयू, अपरेसन थिएटर लगायतका हरेक वार्ड र कोठामा पाइप प्रणालीबाट नै पठाउने गरिएको निर्देशक काफ्लेले बताए । उनका अनुसार अक्सिजन ट्याङ्क सञ्चालनमा आएपछि अब हामीले बाहिरबाट अक्सिजन ल्याउनु पर्दैन । लिक्विड अक्सिजनलाई माइनस १८० डिग्री सेल्सियसमा राख्नुपर्छ । एक लिटर लिक्विड अक्सिजनबाट सात सय लिटर अक्सिजन ग्यास बन्ने गरेको उनले जानकारी दिए ।
उनले भने, “अब अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन आपूर्तिको व्यवस्था भए पनि बिरामीलाई एक कोठाबाट अर्को कोठामा स्थान्तरण गर्नुपर्दा, अपरेसन थिएटरमा लानुपर्दा वा अपरेसन थिएटरबाट वार्डमा स्थानान्तरण गर्नुपर्दा वा एम्बुलेन्समा लानुपर्दा ‘ब्याक अप’ रूपमा अक्सिजन सिलिन्डर राख्नुपर्ने हुन्छ ।” यसअघि एक महिनासम्म अस्पतालले अक्सिजनको अभावसँग जुध्नु परेको थियो । निर्देशक काफ्लेले अब अस्पतालको आफ्नै अक्सिजन ट्याङ्क सञ्चालनमा आएपछि यो समस्याबाट पार पाउन लागेको जानकारी दिए ।
बिरामीको चाप र अक्सिजनको चरम अभाव भएका बेला यो अस्पताललाई प्राप्त चीनबाट आएका ५३ वटा लिक्विड ट्याङ्कमध्ये अहिलेसम्म १० वटा बाँकी रहेको उनले जानकारी दिए ।