बैतडी । दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । सङ्क्रमित मध्ये ५५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् ।
त्यसै गरी कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई शनिवारै देखि लकडाउन गरिएको छ ।