जापानबाट गलकोटेले पठाए स्वास्थ्य सामग्री

जापानबाट गलकोटेले पठाए स्वास्थ्य सामग्री

२०७८, जेठ २४ सोमवार

  • 1.0K
    SHARES

  • जापानबाट गलकोटेले पठाए स्वास्थ्य सामग्री

    बागलुङ । जापानमा क्रियाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

    गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आइतबार अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

    गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गरेका थिए ।

    सीमित स्रोत साधनका बावजुत कोरोनाविरुद्ध सङ्घर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पु-याउने उद्देश्यले ती संस्थाले जापानमा आर्थिक सहयोग अभियान चलाएका थिए ।

    त्यसरी सङ्कलित रकमबाट स्वास्थ्य सामग्री/उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताए ।

    पिसिआर टेष्ट किट, एन्टिजिन टेष्ट किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्डलगायतका सामग्री सहयोग गरिएको उनको भनाइ छ ।

    अस्पताल र दुई पालिकाका स्वास्थ्य शाखामा गरी कुल रु. सात लाख ३७ हजार बराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले बताए ।

    निषेधाज्ञाका कारण नियमित हवाई उडानसमेत बन्द रहेको अवस्थामा कार्गो गरेर सामग्री पठाइएको उनको भनाइ छ ।  शाखाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रुपमा जोडिएका थिए ।

    २०७८, जेठ २४ सोमवार०६:३६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार