काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान भोलि शुक्रवारबाट स्थगित गरिएको छ ।
सरकारले खोप उपलब्ध गराउन नसकिने जानकारी गराएका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले बताए ।
काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो ।
तर पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले अर्को सूचना जारी नभएसम्मका लागि अभियान स्थगन गर्नुपरेको बताएको छ ।
त्यस्तै नगरका वडाहरुले पनि खोप स्थगित भएको सूचनानै प्रकाशन गरेर जानकारी गराएका छन् ।
महानगरमा एक लाख जनतालाई खोप लगाइने भन्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले खोप अभियान उद्घाटन गरे पनि करिव २८ हजार जनताले मात्र खोप लगाए ।
यसअघि खोप अभावका कारण महानगरका छिमेकी नगरपालिका बुढानिलकण्ठ, टोखा लगाएतमा २ दिन पनि खोप अभियान राम्ररी चल्न सकेको थिएन ।

