स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेस जिल्ला सभापतिहरूको माग

स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेस जिल्ला सभापतिहरूको माग

२०७८, आषाढ १ मंगलवार

  • 969
    SHARES

  • स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेस जिल्ला सभापतिहरूको माग

    गण्डकी । गण्डकी प्रदेश अन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् ।

    प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन् ।

    अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गर्नुभएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेको उनले बताए ।

    कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार  र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरे ।

    कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरे । कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

    सो क्रममा सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे ।

    जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

    २०७८, आषाढ १ मंगलवार०७:४५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार