बालबालिकालाई फाइजर खोप तिहारपछि लगाइँदै 

बालबालिकालाई फाइजर खोप तिहारपछि लगाइँदै 

२०७८, कार्तिक १२ शुक्रवार

  • 1.2K
    SHARES

  • बालबालिकालाई फाइजर खोप तिहारपछि लगाइँदै 

    काठमाडौँ। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घ रोग भएकालाई समेत खोप दिने जनाइएको छ ।

    सह प्रवक्ता डा अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।

    उनले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने समेत बताए । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सह प्रवक्ता डा अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् । 

    मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ । उनका अनुसार सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा खोप ल्याइने छ । केही ढिला भएमा सन् २०२२ को सुरुसम्ममा आउने छ ।

    अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ । मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने विज्ञहरूले जनाएका छन् ।

    उनले भने, ‘हामीसँग दुईदेखि आठ डिग्री खोप भण्डारण गर्न सक्ने ठाउँहरू धेरै छन् । त्यसैले हाम्रो प्राथमिकता खोप ल्याएर लामो समय राख्नेभन्दा ल्याएपछि जतिसक्दो छिटो लगाउने भन्ने नै हो ।’ उनका अनुसार ४० लाख मोडर्ना खोप एकै खेपमा ल्याउँदा पनि व्यवस्थापन गर्न सकिने क्षमता छ ।

    बालबालिकालाई खोप लगाउन सरकारले निर्णय गरेसँगै अभिभावकमा कौतुहलता र खोप लगाएपछि हुनसक्ने ‘साइड इफेक्ट’ का बारेमा अभिभावकले चासो राख्ने गरेका छन् ।

    सो सन्दर्भमा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका विशेषज्ञ डा शेरबहादुर पुनले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिँदा शतप्रतिशत कोभिड–१९ प्रतिरोधी क्षमता विकास गरेको अनुसन्धानमा देखाएको बताए ।

    यसअघिका अनुभवमा खोप लगाएको ठाउँमा दुख्ने, थकान महसुस गर्ने, टाउको दुख्ने, जाडो लाग्नुरकाम्नु, मांसपेशी दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नुजस्ता समस्या बढी देखिएका छन् ।

    यसमध्ये एउटा मुटुसम्बन्धी अति दुर्लभ समस्या पनि अनुसन्धानमा देखिएको डा पुनले बताए। उनका अनुसार दोस्रो डोज लगाएपछि देखिएको यो समस्यामा मुटुका मांसपेशी वा बाहिरी तह सुन्निएको थियो ।

    यस्ता समस्या गम्भीर नभएका र उपचारपछि पूर्ण रूपमा निको भएका छन् । खोप लगाएपछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो छिटो मुटु चल्ने आदि समस्या देखिए तुरुन्त अस्पताल गई मुटुसँग सम्बन्धित जाँच गराइहाल्नु पर्ने उनको सुझाव छ ।

    फाइजर खोपको दुई डोज तीन हप्ताको अन्तरालमा दिइने मन्त्रालयले जनाइएको छ । 

    २०७८, कार्तिक १२ शुक्रवार०७:३७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार