एचआईभी सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

एचआईभी सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

२०७८, कार्तिक ३० मंगलवार

  • 977
    SHARES

  • एचआईभी सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

    चितवन । एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।

    एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

    उनका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा  क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका  कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार नौ सङ्क्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ । गत महिनादेखि  परीक्षण थालिएको हो । हालसम्म परीक्षण गरेका महिलामा क्यान्सरको कुनै समस्या देखिएको छैन । एचआईभी सङ्क्रमितलाई क्यान्सर रोग देखिन थालेसँगै यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।

    कार्यक्रम प्रमुख सापकोटाले भने, "क्यान्सर रोग देखिएमा थप उपचारका लागि सहयोग पुगोस् भनेर अस्पतालसँगको समन्वयमा यो सेवा सञ्चालनमा ल्याएका हौँ ।” सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो । 

    जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । नयाँ पहिचान भएका सङ्क्रमितलाई निःशुल्क एआरटी औषधि सुरु गरिएको छ । अस्पतालको एआरटी क्लिनिकबाट एक हजार २९ जनाले नियमित निःशुल्क औषधि खाइरहेका छन् ।

    तीमध्ये ४९५ पुरुष, ४९० महिला र ४४  बालबालिका छन् । उहाँका अनुसार कोभिड सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधिमा ४२८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको र १३३ जनालाई खाद्यान्न समेत सहयोग गरिएको थियो ।

    २०७८, कार्तिक ३० मंगलवार०१:३१:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार