दैनिक साढे ६ देखि ७ लाख मतपत्र छापिँदै

दैनिक साढे ६ देखि ७ लाख मतपत्र छापिँदै

२०७८, चैत्र २२ मंगलवार

  • 1.3K
    SHARES

  • दैनिक साढे ६ देखि ७ लाख मतपत्र छापिँदै

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो ।

    आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम छपाइ सुरु गरिएको जानकारी दिए । 

    ‘मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने । 

    आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ वटै प्रकारका मतपत्र छपाइ गर्नेछ । देशभरका स्थानीय तहमा प्रयोग हुने मतपत्रमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको चुनाव चिह्न रहनेछन् । अन्य चिह्न भने जिल्लामा रहेका दल र स्वतन्त्र उम्मेदवारका हुनेछन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ हुने जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ५६ लहरका मतपत्र काठमाडौैंका लागि छापिनेछ ।

    ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ, सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौँको मतपत्र हुनेछ ।’ 

    २०७८, चैत्र २२ मंगलवार०७:४२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार