काठमाडौं । आसन्न स्थानिय चुनावको सरगर्मी सँगै घरदैलोमा आउने उमेदवारलाई मतदाताले खुलेरै प्रश्न गर्न थालेका छन् ।
सहरका मतदाता कति सम्म सचेत हुन थालेका छन् भने आफ्नो वडा र क्षेत्रमा रहेका उपलव्ध उमेदवारको वायोग्राफी नै राख्ने गरेको पाईएको छ ।
मंगलवार काठमाडौंको सिंहदरवार क्षेत्रको काठमाडौं महानगरपालिकाको वडा नं २९ मा यस्तै रोचक दृश्य देखिएको थियो । नेकपा एमालेका अध्यक्षका उमेदवार शिवराम राजवंशी (श्रेष्ठ), सदस्यका उमेदवारहरु भरतराज मैनाली, दिनेश महर्जन, अम्बिका उप्रेती र रोमी पुजारी सहित सयौं नेता कार्यकर्तालाई लिएर घरदैलोमा निस्किएका थिए ।

१०० मिटर वरै घरदैलोमा आएका उमेदवारका पार्टीको वाजागाजाको आवाज सुनेर स्थानिय घरगेटमा उभिरहेका देखिन्थे ।
जब राजवंशी घरदैलोमा पुग्दथे, तब प्रश्नका वर्षा नै ओइरिन्थे । उनीहरु भन्दथे, "हामीलाई रोजगार चाहिएन, रेल चाहिएन तर फोहोरले काठमाडौंमा बस्नै नसकिने भयो । समाधान कसरी गर्नु हुन्छ ?"
६५ वर्षीय बृद्ध रमादेवी पौडेलले राजवंशीको हातै समातेर भनिन्, "बाबु यहाँले जितिसक्नु भयो, टोलभरि यहाँको चर्चा छ । अब फोहोर व्यवस्थापनमा लागौं । घर आउने बाटामा ट्याक्सी र मोटर साइकल राखेर घरबाट बाहिर निस्कन र घर आउनै समस्या भयो । यी व्यवस्थापनमा लाग्नुहोस् ।"
जवाफमा राजवंशी भन्दथे, "बैज्ञानिक ढंगले कम्तिमा वडाको फोहोर व्यवस्थापनको योजना ल्याउँछु, यहाँहरुको सहयोग होस् । सवारी पार्किंगलाई व्यवस्थापन गर्न आजै ट्राफिकसँग कुरा गर्नेछु । यहाँहरुले जिताउनु भयो भने यी गुनासा फेरिफेरि नआउने गरि काम गर्ने वाचा गर्दछु ।"

स्थानिय रुपमा भिजेर काम गरेरै होला । कुनैं टोलमा जनताहरु आशातित भएर प्रश्न गरिरहेका देखिन्थे त कतै राजनीतिक दलले केही नै काम गरेनन् भन्दै वादविवाद गर्न तम्सिनेहरु पनि देखिएका थिए । "घर अगाडीको बाटो पिच भएन, वडा कार्यालय अर्को वडामा बसेको छ । व्यवस्थित र सुविधा सहितको वडा कार्यालय बनाउने योजना छ की छैन ?", प्रश्न माथि प्रश्न गर्दै जंगिने मतदाता पनि देखिन्थे ।
"पहिला मेरो टिमलाई भारि मत दिएर जिताएर पठाउनोस्, छ महिना भित्र वडा कार्यालयको भवन सिलान्यास गरेर वर्ष दिन भित्रै नयाँ भवनमा वडा कार्यालय संचालन गर्नेछु", राजवंशीको जवाफ थियो ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा २८ मत मात्र कमि भएर नेपाली कांग्रेसका उमेदवार कुश ढकालसँग पराजित हुन पुगेका राजवंशी यस पटक जित निकाल्न कस्सिएका छन् । सो निर्वाचनमा अध्यक्ष ढकाल सहित ४ वटै सदस्य पदमा नेपाली कांग्रसका उमेदवार विजयी भएका थिए ।
बैशाख ३० गते हुने यस निर्वाचनमा पनि उनै ढकाललाई कांग्रेसले अध्यक्षको उमेदवार बनाएको छ । यद्यपि उनी मतदाताका प्रश्नै प्रश्नबाट गुज्रन पर्ने फिल्ड रिपोर्टिंगले देखाएको छ ।

यो पनि पढ्नुहोस् - काठमाडौं २९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, को को बने उमेद्वार ?