राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

२०७९, बैशाख २३ शुक्रवार

  • 1.5K
    SHARES

  • राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताएका छन् ।
     
    नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उहाँले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण खोज्दै आफूहरुले गठबन्धन गरेको स्पष्ट पारे। 

    पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन परिवर्तनको पक्षमा उभिएकाले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएको बताए । 

    निमित्त नायक बन्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संसद् र जनतम तथा स्थायित्व र सुशासनमाथि प्रहार गरेको आरोप लगाए । उनले एकले अर्कालाई सहयोग गरेर अगाडि जानुपर्नेमा जोड दिँदै भने, “छ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसले सहयात्री दललाई सहयोग गर्छ भने तीन वटामा कांग्रेसले सहयोग पाउँछ ।” 

    नेपालको संविधान र निर्वाचन प्रणालीले पनि संयुक्त सरकारको परिकल्पना गरेकाले गठबन्धन जरुरी रहेको नेता पौडेलको भनाइ थियो । उनले पुरानो र सङ्कीर्ण सोचबाट उठेर देशको मूल समस्या समाधान गर्न एक ठाउँमा उभिनुपर्ने भएकाले र अलगअलग पार्टीबीचमा एकता जरुरी रहेको स्पष्ट पारे । 

    सामाजिक न्याय कायम गरेर निमुखा जनतालाई न्याय, विपन्न जनतालाई आयको वातावरण बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । 

    नेता पौडेलले कृष्णप्रसाद भट्टराईले देख्नुभएको सपना साकार भएको र त्यसलाई अझ विस्तार गरेर जानुपर्ने, एवं काठमाडौँ उपत्यकाको फोहरमैलाको व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताए । 

    २०७९, बैशाख २३ शुक्रवार०८:२३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार