काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का रमेश नापित विजयी भएका छन् । नापितले चार हजार ७०० मत प्राप्त गरे ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गरे ।
नेकपा (एमाले) का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाए । नेकपा (माओवादी केन्द्र) का मधु केसी नीरजले दुई हजार २२२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।
जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो ।
उपप्रमुखमा काँग्रेस
उपप्रमुखमा नेपाली काँग्रेसकी समिता श्रेष्ठ विजयी भइन् । उनले छ हजार ३६२ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले तीन हजार २९८ मत पाइन् । शङ्खरापुरमा काँग्रेस र समाजवादीको गठबन्धन थियो । विसं २०७४ को निर्वाचनमा काठमाडौं उपत्यकामा राप्रपाले स्थानीय तहको प्रमुखमा जीत हासिल गर्न सकेको थिएन ।
वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दङ्गाल, २ मा काँग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा काँग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा काँग्रेसका पोते थिङ र वडा नं ९ मा पनि काँग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित भएका छन् ।
यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँचवटा वडा पनि एमालेले जितेको थियो ।