सिरहाको गोलबजारमा एमाले विजयी

सिरहाको गोलबजारमा एमाले विजयी

२०७९, जेठ १० मंगलवार

  • 1.2K
    SHARES

  • सिरहाको गोलबजारमा एमाले विजयी

    लहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन् । 

    श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे ।  

    उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरे । 

    कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

    तलबभत्ताबाट मासिक राहत वितरण गरिने  
    लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गरेका छन् । 

    पदभार ग्रहण गर्दै उनले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गरे । तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताए । 

    यस्तै उनले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि रु पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गरे । नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने जानकारी  दिए । 

    २०७९, जेठ १० मंगलवार११:२६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार